Tuesday, May 20, 2025

सुन आमा, छोरी भ्रूणको कथा

सुन आमा,

म आएकी थिएँ, तिमीभित्र।

तिमी अस्पताल गयौ, केही कुरा गर्‍यौ,

त्यसपछिबाट तिमी किन यति चुप भयौ ?

म त खुसी थिएँ,

तिम्रो कोख पाउँदा,

तिम्रो काख पाउने सपनामा रमाएकी थिएँ।

दिदीसँग खेल्ने, माया बाँड्ने रहर थियो।

 मेरो मुटु धड्किन थालेको केही दिन मात्रै भएको थियो,

आँखा, नाक, हात—सबै बन्ने बाँकी नै थियो।

तर तिमी दुखी देखिनु, मलाई पनि गाह्रो बनिरहेको छ।

मैले तिमीलाई बोलाएँ —

साना स्वरमा, धेरै चोटि,

तर मेरो आवाज तिम्रो मुटुसम्म पुगेन सायद।

म थिएँ नि आमा,

तिम्रो अंश — तिमी जस्तै छोरी।

हजुरआमाको काखमा टाँसिएर कथा सुन्ने रहर 

बुबाको काँधमा चढेर संसार हेर्ने सपना।

तर अब त्यो अधुरो नै रहनेछ,

मेरो यात्रा यत्तिकै रोकिनेछ —

तिमीले एउटा निर्णय गर्‍यौ,

शायद समाज, परिवारको डरले।

तिमीले चुपचाप केही खायौ,

अलिकति आँसु मिसाई पानीसँग

सायद त्यो मेरो यात्रा अन्त्यको सङ्केत थियो।

तर आमा —

के दोष थियो मेरो 

तिमी छोरी, दिदी अनि हजुराआमा पनि 

म मात्रै छोरी भई किन जन्मिन नपाउने 

मेरो आवाज रोकिनु,

मेरो बाटो बन्द हुनु — सायद तिम्रो लागि शान्तिको खोज थियो।

 शायद अब तिमी मुस्कुराउनेछौ,

शायद परिवारले तिमीलाई अब माया गर्नेछन्।

तर तिमीभित्र केही मौन पीडा बाँकी रहनेछ,

किनभने म — तिमीभित्रको एउटा अधुरो आत्मा थिएँ।

 तिम्रो अस्तित्व जोगाउन।

, तिमीबाट टाढा जानुपर्‍यो।

अलबिदा आमा,

अब हाम्रो भेट कहिल्यै नहोला।

म फर्किएँ त्यही सुनसान अन्धकारमा

जहाँबाट म सास बनेर आएकी थिएँ।


Tuesday, March 11, 2025

ओइ, तिमी काहा छौ आजभोलि?








ओइ, तिमी काहा छौ आजभोलि? 

न कुनै खबर, न कुनै सन्देश,

के पर्‍यो त्यस्तो, जसले तिमीलाई यति टाढा लग्यो?

शब्दहरू बोझिला भए कि मौनता नै सजिलो लाग्यो?


केही त भन्न खोज्छौ होला तिमी पनि,

तर किन शून्यताले छोपी राख्छौ आफूलाई?


कहिलेकाहीँ लाग्छ, तिमी आफैलाई हराइसक्यौ,

खोज्छु फेसबुक, ट्विटर, टिकटक अनि इन्स्टाग्राममा,

तर तिमी केवल देखा पर्छौ सपनामा,

म प्रत्यक्ष कुरा गर्न खोज्छु, तिमी आउँछौ केवल सम्झनामा।


के मैले केही गल्ती गरे?

या समयले नै हाम्रो बाटो मोडिदियो?

तिमी उस्तै छौ या बदलियौ?

तिम्रो हाँसो उस्तै छ कि ओठमा मौनता छाएको छ?


कि डराउँछौ र एउटा ‘हाइ’ भन्नलाई,

यो इन्टरनेटको जमानामा पनि?

तिमी ‘हाइ’ भन्नु, म बोलौँला ‘हेल्लो’ भनी।

भो अब धेरै लुकामारी नखेल,

यो खबर पाउनासाथ एउटा म्यासेज ठेल।

Thursday, January 2, 2025

आफैँलाई पहिलो स्थानमा राखौँ

निकाल केही फुर्सद आफ्नो लागि पनि,

बचाउ केही खर्च आफ्नो लागि भनी 

कति गर्छौ काम धन्दा ;w}+ मरी मरी, 

यसो निस्किएर घेराबाट हेर वरिपरि 

निदाऊँ चैनको निन्द भुलेर सारा जगत्,

म बिना केही हुन्न सोच्नु भ्रम हो फगत।

दुखेका होलान् शरीर यसो आराम गर,  

बुढेसकालमा कोही होला नहोला भर 

जोड अलिकति सम्पत्ति पछिको लागि

सहारा बन्दै आउँछन् सबै भागी भागी 

स्वास्थ्यको ख्याल गरौँ तन अनि मनको

मरी हत्ते नगर आफ्नो नभएको धनको। 

जहाँ पुग्न मन छ, पाइला त्यतै सार

गति होस सुस्त तर मानी नहाल हार 

यो वर्ष आफूलाई राख पहिलो स्थानमा

खुसी फुस्फुसाउनेछ आएर तिम्रा कानमा ।

Thursday, December 26, 2024

चिया चालिसा

 


बेलुका लाए पनि वाइन भोड्का र हिवस्की
भोली व्यानै चाहिन्छ दूध चियाको चुस्कि 
थकान पिडा दूर गराउने तातो च्याको घुट्की
खाजा दिने च्या नदिनेलाई हान्दिऊ लाग्छ मुड्की 
हामी चिया पिउनेको बेग्लै शान र फुर्ती 
चिया ख्वाउने भए आउँछु भन्दै लाउँछे घुर्की

 सानै देखि खाको मैले चिया सँग चिउरा भात 
अहिले पनि खाँदै छु पाउरोटी र बिस्कुट साथ 
चिया खाऊँ है भन्दै सोध्ने नेपालीको संस्कार
केटी हेर्न जाँदा समेत च्याले हुन्छ सत्कार 
भक्क भक्क उमालेको चिया स्वादै बेग्लै 
दे न यार मलाई पनि कति पिउँछस् एक्लै 

कामको तनाव भाको बेला चिया पिउनुपर्छ । 
आइडिया त कति कति फुर्र फुर्र झर्छ । 
खुसी हुँदा चिया गिलास ठोक्दै  चियर्स गर्ने 
दुखी हुँदा चिया पिउँदै तुरतुर आँसु झार्ने । 
गाली गर्न गाको थिएँ, चिया पिलाई दिए
मुख्य कुरो के थियो कुन्नि सबै भुलाई दिए 

चिया साथमा पिए पछि दुस्मन पनि मित्र
नशा भित्र रगत अनि चिया रगत भित्र 
चिया पिउँदा ग्यास्ट्रिक हुन्छ भन्नु हुन्छ बाबैले 
ग्यास्ट्रिकसँग को डराउँछ ठिक पारिन्छ दबाइले 
मिठो चिया पकाउँछ मेरो जेठो छोरोले
यति सुनेपछि मेरो मनै लग्यो मोरोले 

दिनभरि बर्त बस्छु, त्यही चियाको भरमा
जताततै चर्चा च्याको गाउँ अनि सहरमा
चिया पत्ती सकिएछ,  चिनी पनि छैन । 
यी दुई कुरा नलिईकन घर आउने हैन । 
के छ साथी हालखबर भेटौ चिया पसलमा 
भेटेरे नै बात मारौंला कति बोल्नु कलमा 

बिरामी कुर्न गाको बसे छेउको बेडमा । 
मिठ्ठो चिया पाउँदो रैछ हस्पिटलको गेटमा । 
पाटी खान गाको ठाउँमा चिया राख्या रैन्छ,
मासु पुलाउ दबाएर बाहिर चिया खाइन्छ । 
रङ्ग कडा, चिनी थोरै अदुवालाई कुचेर 
मिठो चिया बनाऊ प्रिये भन्दै बोल्छु झुकेर 

त्यो चिया के चिया दूध बिनाको चिया 
जसले ख्वाउँछ चिया उतै पाटी खोल्दिया 
चिया लभरहरको एउटा सङ्गठन खोल्नु छ । 
रिबन काटी उद्घाटनमा चिया भाषण बोल्नु छ । 
छिमेकीले च्या पकाए बास्ना आयो हरर 
हस्त मलाई बिदा दिनुस्, चिया पिउँछु गएर । 

Monday, June 10, 2024

हाउसवाईफ

सखारैको अलामसँग उठी, भान्छा सम्हाल्यो ।

चिया खाजा बनाएर सन्तान अङ्गाल्यो ।

छोराछोरी तयार पारी स्कुलमा पठायो ।

चिया पाक्यो हजुर भन्दै श्रीमान् जगायो ।

चिया पिउँदै समाचार पढ्नुहुन्छ वहाँले ।

ओच्छ्यान बाटै बोलाउनु भो सासू मुमाले ।

ससुरालाई सुगर छ सासूलाई प्रेसर । 

हजुरबा चैँ दमको रोगी, नुन पानी र बेसार । 

बिहानको भान्छा सकी दिउँसोको खाजा ।

साँझको ६ बजे नै चाहियो भुजा ताजा । 

श्रीमान् आए अफिसबाट लखतरान परेर ।

दिएँ मैले चिया, पानी तयार गरेर ।

लाला बाला खुवाएर होमवर्क पनि गराएँ ।

आफू सुत्ने बेला सम्म १२  बजाएँ । 

ओहो भोली बिहान मैले छिटो उठ्नु छ । 

हजुरआमा लिएर मन्दिर पुग्नु छ । 

फेसबुकमा फोटा हेर्छु साथी सँगी घुमेका।

पढिलेखी जागिर गरी शिखर चुमेका।

सबै जना सोध्छन् मलाई सो गरी कट्छ दिन 

जवाफ आउँछ श्रीमानबाट घरमै बस्दिछिन् । 

सबको खुसी, स्वास्थ्य अनि गर्नुपर्छ सारा काम ।

तर पनि  केही नगरी घर बस्नेमा आउँछ नाम ।

सबै जान्छन् कमाउन, सबै जान्छन् रमाउन ।

म त हजुर सधैँ व्यस्त डाडु पन्युँ समाउन ।

मैले गर्ने कामहरूका न त नाम छ न त दाम ।

म त हजुर हाउसवाईफ त्यही मेरो सर्वनाम ।

 

Monday, February 18, 2019

जन्मदिनको शुभकामना सानू !

पहिलो रुवाई, पहिलो मुस्कान अनि पहिलो हाँसो ।
तिमी आयौ सन्तानको रुपमा सपना भयो साचो । 

पहिलो बामे, पहिलो ताते पहिलो कदमको बर्ष,
बयान गर्ने शब्द छैन, आमा–बाबा हुनुको हर्ष ।

पहिलो चुपचुप, पहिलो सुरुप्प अनि पहिलो गाँस ।
तिम्रा चन्चल हरकतले ल्यायो परिवारमा सुवास ।

सानो मुटुको ढुकढुकी ति कोमल हातहरुको स्पर्श
स्वास्थय,सुख र खुसीहरुले तिमीलाई रोजुन सहर्ष ।

तिमीले चालेका पाईलाहरुले गन्तब्य सधैं भेटाउन्
तिम्रा शब्द कसैलाई नबिझोस बरु चोट मेटाउन् ।

तिम्रो मुस्कानले फुल फक्रियोस्, दुबो रमाओस्,

पाईलाहरुले सफलता, हत्केलाले खुसी समाओस् । 

सुन आमा, छोरी भ्रूणको कथा

सुन आमा , म आएकी थिएँ , तिमीभित्र। तिमी अस्पताल गयौ , केही कुरा गर्‍यौ , त्यसपछिबाट तिमी किन यति चुप भयौ ? म त खुसी थिएँ , तिम्रो कोख पाउँदा...