Tuesday, December 11, 2012

प्रस्तावहरु !!!



अनगिन्ति आए मलाई प्रेम प्रस्तावका खातहरु ।
धेरै तेर्सिए मेरा अघि माया लगाउने हातहरु ।

सुन्दर मुहार नै रोजुरोजु जस्तो लाग्यो मलाई ।
नियालि हेर्दा ऊ भित्र पाँए बोतलका मातहरु ।

यि आँखा नअडिएका होइनन महंगा आवरणमा,
भवँरा रहेछ छानि हिड्ने अनेक रंग र जातहरु ।

एक सम्पन्नको साथ लिउं लिउं लाग्यो मलाई,
उस्को चहाना पाइरहने थरिथरि नारीका साथहरु ।

एक भद्र देशप्रेमीलाई आफ्नो बनाउ झैं लाग्यो,
त्यस्का देशभक्ति त रहेछन,फुस्रा खोस्टे बातहरु ।

कुनै एक गरिब तर इमान्दारलाई अपनाउन चाहें,
उस्को पनि आफ्नै आवश्यक्ता रुपैयाँका पातहरु ।

Tuesday, November 6, 2012

तिम्रा झुटा बाचा


साथी बन्यौ, प्रेमी बन्यौ,जीवनसाथी बन्छु भन्यौ ।
जिन्दगीको सहयात्री तिमीलाई नै ठान्छु भन्यौ । 

एकक्षण मलाई नदेख्दा नि बहुलाएर हिड्थ्यौ तिमी,
तिमीलाई पाइन भने विष पनि म खान्छु भन्यौ ।

मेरै नामको सिन्दुरले तिम्रो सिउँदो सजाउने छु,
अनि तिमीलाई भगाएर धेरै टाढा लान्छु भन्यौ । 

विश्वास गरी तिम्रा कुरा तिमी भित्रै हराँए म,
तिम्रो यादमा तड्पीएर रक्सी चुरोट तान्छु भन्यौ ।

सँगै जिउने सपना बुन्दै सपना मै म रमाइ रहें,
तर आज जीवनको बाधक तिम्लाई ठान्छु भन्यौ । 


Written on 2063-7-27-Thursday 

Saturday, September 29, 2012

मिठो पिडा


काउकुति लगाउने स्पर्श मिठो लाग्यो । 
निन्द्राबाट जगाउने उत्कर्ष मिठो लागयो ।

सधै यस्तै खुसी, पाइरहूँ लागेको थियो,
क्षणभरकै भएपनि त्यो हर्ष मिठो लाग्यो ।

केहिपटक मात्र, मिलन हाम्रो हुन सक्यो,
भेट्नलाइ गरेका ति संघर्ष मिठो लाग्यो ।

तिमीसँग अझै नजिक, हुन बाँकि नै थियो,
मलाई छोड्ने तिम्रो निष्कर्ष मिठो लाग्यो 

सोचेकै थिइन तिमी बिना, मैले बाच्नु पर्छ,
तिमीले दिएको पिडादायि बर्ष मिठो लाग्यो

Thursday, August 23, 2012

सहयात्री


यो जिवनको साथी हो को के जानु र म ।
छ ऊ कुन चिजको भोको के जानु र म ।

सुख सयालमा हुर्किएर मात्तिएको छ कि,
या पिडा र अभावमा रोको के जानु र म ।

सजिएका छन् कि सपना उस्का मुटुभरि,
या छ चोटै चोटको पोको के जानु र म ।

ति आँखामा रहन्छु कि तस्विर बनेर म,
या हुनेछु आँशुको फोको के जानु र म ।

आँउनेछौँ कि समिपमा दुरी कतै नराखेर,
या हुनेछौँ हामी को- को के जानु र म ।

बरालिएर उस्ले आफ्नो इज्जत फालेको छ, 
या छ अति मायालु र चोखो के जानु र म ।

Tuesday, August 7, 2012

नियत

राम्री तिमी भनेर सबले, रुपलाई नै भनेका होलान् । 
प्रसंशा छर्दै समिप मेरो, आउने बाटो खनेका होलान् । 

शंका उब्ज्यो नियत माथि, बढाईचढाई तारिफ गर्दा,
पक्कै पनि सोझी सम्झेर, नभाको कुरा भनेका होलान् । 

प्यास आफ्नो मेटाउन, जाली माया जाल बिच्छ्याउँदा, 
फुरुक्क पर्दै उनीहरुलाई, मनपेट दिन्छु ठानेका होलान् । 

जसरी जे भने पनि पत्याएर, विश्वास गरुँला सम्झी,
कुदृष्टिका तिखा ति बाणहरु, मै तिर हानेका होलान्,।

बाहिरी आवरण सोझी लागेनी, पक्कै त्यस्ती छैन म, 
तर पनि जित्छु भनी, छल्न मलाई नै छानेका होलान् ।

Monday, July 30, 2012

असफल प्रयास

पाइला जँहा राखे पनि भासीरहेको छ ।
संगालेका सपना सारा नासीरहेको छ ।

चोटहरु बगी जाउन भनि रोइरहेकी छु,
झन गाढा बनी मनमा टाँसीरहेको छ ।

हृदयलाई बहलाउन एकैछिन हाँस्न खोजें,
हाँसो भित्रै रोदनले नाता गाँसीरहेको छ ।

मुक्ति पाउन चाहें उराठलाग्दो जीवनदेखि,
जति निस्क्यो उति उति उदासीरहेको छ ।

मरिच आफ्नै रागले चाउरी परे जस्तै,
आफ्नै रागले जिन्दगी यो झासीरहेको छ ।

Wednesday, July 18, 2012

मात्र अब याद बाँकी


मायाको मुहान बन्द भयो के काम अब शाखाहरु,
रोइरहेछन् आज तिमीलाई हेर्ने मेरा आँखाहरु ।

लामो समय सँगै बित्थ्यो रमणिय डाँडा माथि,
आज फिक्का लागिरहेछन् हरिया ति पाखाहरु ।

मेरो मनका भावहरु गित बनाई गाँउथ्यौ तिमी,
मुटु जलेर खरानि हुन्छ सुन्दा तिनै भाकाहरु ।

भन्थ्यौ तिम्रो मनको द्धार खुल्ला छ मेरो लागि,
तर आज बन्द भए प्रवेश गर्ने सवै नाकाहरु ।

तिम्रा कोमल स्पर्शलाई माया मैले ठानेको थेँ,
ति त रहेछन् मात्र मलाई लुटी भाग्ने डाँकाहरु ।

चञ्चल,निर्दोष,खालि थियो अन्जान यो मुटु,
तिम्रै कारण लागेका छन् ठुलाठुला टाँकाहरु ।

Sunday, July 15, 2012

जिन्दगी

छोरी भएर जन्मनु नै काँडा हो रे जिन्दगी ।
जेजे आए नि छाति थाप्ने डाडाँ हो रे जिन्दगी ।

एक न एक दिन पराई भित्ता पोत्न जानै पर्छ ।
माईतिघरमा दुईचारदिनको साँडा हो रे जिन्दगी ।

परम्परा र रितरिवाजमा जिवनभर बाधिनुपर्ने,
विहे अघिसम्म मात्र छाडा हो रे जिन्दगी ।

बालिका,किशोरी युवती हुदै बुढी भएपछि,
कसैलाई काम नलाग्ने भाडा हो रे जिन्दगी ।

जन्म घरलाई छोडेर कर्मघर लागेपछि,
पराईपरिवार धान्न पर्ने गाडा हो रे जिन्दगी ।

Monday, June 25, 2012

अधुरो प्रेम


म तिमीलाई कहिल्यै कतै, याद आउन सकिँन ।
त्यो मुटुमा एउटा, सानो ठाँउ पाउन सकिँन ।


देखेकी थिएँ धेरै सपनाहरु,आँशुसँगै बगेर गए,
फेरी अर्को नयाँ सपनाको, गित गाउँन सकिँन । 


खोलेर दिल तिमीसँग, न त कहिल्यै हाँस्न पाएँ,
राखेर शिर छातिमा ,आँशु पनि बगाउन सकिँन । 


लागेन भोक, उड्यो निन्द्रा, छोडेर तिमीले हिड्दा,
लाखौ कोशीस गरेँ, तिम्रो सम्झँना भगाउन सकिँन। 


मरीसकेँ भनौ भने, चल्दैछन् साँस र धड्कन अझै,
बाचेँकी छु भनौ, पुरानो पबीलाई जगाउन सकिँन । 

Sunday, June 24, 2012

बाच्छु म आफ्नै लागि

ढुक्क भएर बसे हुन्छ दुःख कहिल्यै दिईने छैन । 
मेरो इज्जत लिलाम गरे नि तिम्रो इज्जत लिईने छैन ।

चोट र पिडा कति खाईयो हिसाब किताब राखिएन,
सक्छौ भने अझै देउ, मुटु अहिल्यै खिइने छैन । 

चिरा पर्यो छाति मेरो तिम्रो बिचार उच्च मान्दा
त्यतिकै म बाच्न सक्छु अरुको मायाले सिइने छैन ।

दिएर हिड्यौ आँशु उपहार सक्दो मैले पिइसकेँ
अब फेरी अमृत दिए नि भुल गरेर पिइने छैन ।

कठैबरा नभने हुन्छ, जिवनको मेरो एक्लो यात्रामा
मर्न परे मरौला बरु तिम्रो सामु शिर नुईने छैन ।

आफ्नै स्वार्थ पुरा गर्न सवै यँहा तल्लिन छन् ।
बाच्छु म आफ्नै लागि अरुको निम्ति जिइने छैन ।

Friday, June 22, 2012

तिम्रा निम्ति

छलेर आँखा आफन्तको तिमीलाई भेट्न झरेकी छु । 
फरक ढङ्गले सजिएर आज, सामुमा तिम्रो परेकी छु ।

केहीपल अड्याएर नजर, नियाली त हेर मलाई
तिम्रै निम्ति आँखामा गाँजल,ओठमा लाली भरेकी छु । 

यतिले मात्र श्रृङ्गार मेरो किन पुर्ण हुन्थ्यो र हजुर
फुल झैँ  कोमल बदनमा अत्तर पनि छरेकी छु । 

जिस्किँदै थिए, बाटोभरी यो रुपमा नजर लाउनेहरु,
कतै मुस्कान फ्याकेर हिँडे, कतै आँखा तरेकी छु । 

पाउँदा तिम्रो मिठो साथ, अनि दिन पाउँदा साथ
धेरै खुसी भएकी छु तर थोरै थोरै डरेकी छु ।

Tuesday, June 19, 2012

तिम्रो मिठो साथ

हेर्दा मात्र तिमीले मात लाग्छ मलाई ।
स्पर्श झन् नशाको खात लाग्छ मलाई ।


खेलाउँदै मनमा कुरा तिमीलाई सम्झिँदा,
औँशी पनि पुर्णिमाको रात लाग्छ मलाई ।


मायालु ति नयनका हेराइ साह्रै मिठा छन्,
त्यो भन्दा मिठो तिम्रा बात लाग्छ मलाई ।


छुट्टिनासाथ भेटुँ भेटुँ हुन्छ मेरो यो मनमा,
सधैँ सँगै रहुँ, तिम्रो साथ लाग्छ मलाई ।


मन परेको मान्छेले जे गरे नि राम्रो लाग्ने,
संरसारमै उच्च प्रेमको जात लाग्छ मलाई ।


Thursday, June 7, 2012

आउँछ याद अझै तिम्रो

डुब्दाडुब्दै कल्पनामा छुट्दा रहेछन् हाँसो मेरा । 
सोच्दा सोच्दै तिमीलाई झर्दारहेछन् आँशु मेरा । 
  
आफ्नो छोडी म सधै तिम्रै चिन्ता गरिरहन्छु,
त्यसैले सुक्दै गए जिउको जिउमै मासु मेरा ।

तितरबितर भएर हामी भोलि कहाँ पुग्छौँ
संगाली राख्नु उपहारहरु पिरतीका नासो मेरा । 
  
बिछोडिएर दुई मुटु सूचना विहिन बने पनि,
मर्ने छैनन् तिम्रा निम्ति लहलहाउदो चासो मेरा ।

मेरो मया तिमीलाइ बाधा अड्चन बन्छ भने,
रुदैँ बाटो छोडौंला तर हुने छैनन् गुनासो मेरा । 

डुब्दाडुब्दै कल्पनामा छुट्दा रहेछन् हाँसो मेरा । 
सोच्दा सोच्दै तिमीलाई झर्दारहेछन् आँशु मेरा ।


Friday, June 1, 2012

अपेक्षा

सम्झौता तिमीले नि गर्या भए हुन्थ्यो ।
अलिकति म तिर सर्या भए हुन्थ्यो । 


तिमीलाई पाउन म कति धेरै रोएकीछु,
त्यही आँसुमा डुङ्गा तिमी तर्या भए हन्थ्यो । 


गल्ती सबै बिर्सिएर माफी मैले गरेकै थिएँ ।
अञ्जान बन्दै अझै ममा चर्या भए हुन्थ्यो । 


पहिलो भेटमै परे म त तिम्रो मोहनीमा,
तिमी पनि मेरो प्रेममा पर्या भए हुन्थ्यो । 


नजरको बाण छाडि उडि गयौ तिमी,
माया मेरो भएदेखि झर्या भए हुन्थ्यो ।



Wednesday, May 30, 2012

भिन्नता !!!

तिम्रो मेरो सब चिज फरक झनै फरक कुल भयो । 
तिमीलाई चाहानु नै सायद मेरो ठूलो भूल भयो । 

गुलावको रातो फुल मायाप्रेमको प्रतिक भन्छन् । 
तर मेरो प्रेमको प्रतिक पलासको फूल भयो । 

यी आँखामा हिजोसम्म अनेक खुशी नाचिरहन्थे । 
यिनै आँखा आज आइ आँसु फुट्ने मुल भयो । 

दुःखको समुन्द्रमा चुर्लुम्म तिमी डुबेको बेला
तारिदिने जीवन यो आज भत्किएको पुल भयो । 

बितेका ति दिनहरुमा गरिएका मिठा ठट्टाहरु,
तिनै ठट्टा आज मेरा निम्ति पश्चात्तापको हुल भयो । 

भुल्ने प्रयत्न गरिरहन्छु तिमीले दिएका चोटहरुलाई
तर कहिल्यै पनि बिसेक नहुने अदृष्य शुल भयो ।

Thursday, May 17, 2012

तिमीलाई

अरुलाई एउटा शब्द तिमीलाई सिङ्गो गाना दिउँला ।
चिम्टि माया अरुलाई तिमीलाई हजार माना दिउँला ।

मनैदेखी तिमी पनि चाहन्छौ यदि मलाई भने,
चाहना त्यो ब्यक्त गर्ने थरीथरी बाहना दिउँला ।

मेरा निम्ति पत्र कोर्न मैसगँ कागज माग तिमी,
अरुलाई छैन भनी तिमीलाई सादा पाना दिउँला ।

गर्छु बाचा सम्बन्ध यो हुनेछैन कमजोर कहिल्यै,
जिवनभरको लागि पुग्ने भरोसाको छाना दिउँला ।

विस्वास गरी मलाई तिमी सेवा गर्ने मौका देउ,
तिर्खा लाग्दा पानी अनि भोकमा मिठो खाना दिउँला ।

त्यती मात्र कहाँ होर मेरो हजुर तिमीलाई म,
कहिले मादक मुस्कान त कहिले आशुँ दाना दिउँला ।



Tuesday, April 3, 2012

तिमी जाँदा


तिमी मेरो मस्तिष्क आत्मा अनि शरीरमा ।
आत्मा चुँडी शरीरलाई उनि गयौ झिरमा ।

आउँथ्यौ तिमी सपनीमा कल्पना र सम्झनामा,
भगवान सरी पूजा गरी राखेकैथॆं शिरमा ।

कति कठोर मुटु तिम्रो ढुंगा भन्दा पनि साह्रो,
खुशी हुन खोज्दै थिएँ हालिदियौ पिरमा ।

स्वर्ग मैले पाएकीथंे तिमीलाई भेटेपछि,
छलगरी पारीदियौ चोटैचोटको जंजीरमा  ।

सुनसान यो जीवनमा एक्लोपना थपिदियौ,
बोलायौ कि जस्तो लाग्छ मन छैन थिरमा ।

Wednesday, March 28, 2012

समर्पण


रिसाएर घृणा गर प्रीत सम्झिन्छु ।
जतिसुकै गाली देऊ गीत सम्झिन्छु ।

जीवनको ठूलो दुश्मन ठाने पनि तिमीले,
म त सधंै तिमीलाई मित सम्झिन्छु ।

षडयन्त्र अनेक गरीगरी हराइरहनु मलाई,
प्रत्येक हारहरुलाई म जित सम्झिन्छु ।

मनपरे ज्यानै दिनेमन नपरे इज्जत लिने,
तिम्रो यस्तो प्रवृत्तिलाई म रित सम्झिन्छु ।

किन कुन्नि तिमी मेरो खुशी चाहँदैनौै,
तर म त सधै तिम्रो हित सम्झिन्छु ।

मेरो सानो भुललाई तुष बनाइ राख्यौ,
गल्ति तिम्रा बिलाइजाने शित सम्झिन्छु ।


Tuesday, March 27, 2012

ऊ र तिमी उस्तै

आँसु पुछ्न आएथ्यौ तिमी अझै आँसु बढाएर गयौ ।
खाटा बसेको पुरानो घाउमा नुन्चुक् चढाएर गयौ ।

खुशी हुँदै बाँच्न मैले तिमीसँग सहारा मागें,
सवै चिज खोसेर मेरो प्राणमा मात्र अडाएर गयौ ।

सपनाको बृक्ष मेरो टेको नपाई ढल्कन खोज्दा,
साथ दिने वाचा गरी बृक्षलाई नै लडाएर गयौ ।

मुटु मेरो धेरै अघि छिया छिया परिसकेथ्यो,
मल्हम भर्ने वाहाना गरी भाला अर्को गढाएर गयौ ।

स्वार्थी थियो ऊ अनि स्वार्थी नै रहेछौ तिमी पनि
जे होस मलाई रुवाउनेहरु राम्रो पाठ पढाएर गयौ ।

खाटा बसेको पुरानो घाउमा नुन्चुक् चढाएर गयौ ।
आँसु पुछ्न आएथ्यौ तिमी अझै आँसु बढाएर गयौ ।

A Daughter's Unspoken Journey: A Father's Day Reflection !

Father's Day is a special time when the world comes together to celebrate the love and respect we have for our fathers. It's a day f...