Monday, June 10, 2024

हाउसवाईफ

सखारैको अलामसँग उठी, भान्छा सम्हाल्यो ।

चिया खाजा बनाएर सन्तान अङ्गाल्यो ।

छोराछोरी तयार पारी स्कुलमा पठायो ।

चिया पाक्यो हजुर भन्दै श्रीमान् जगायो ।

चिया पिउँदै समाचार पढ्नुहुन्छ वहाँले ।

ओच्छ्यान बाटै बोलाउनु भो सासू मुमाले ।

ससुरालाई सुगर छ सासूलाई प्रेसर । 

हजुरबा चैँ दमको रोगी, नुन पानी र बेसार । 

बिहानको भान्छा सकी दिउँसोको खाजा ।

साँझको ६ बजे नै चाहियो भुजा ताजा । 

श्रीमान् आए अफिसबाट लखतरान परेर ।

दिएँ मैले चिया, पानी तयार गरेर ।

लाला बाला खुवाएर होमवर्क पनि गराएँ ।

आफू सुत्ने बेला सम्म १२  बजाएँ । 

ओहो भोली बिहान मैले छिटो उठ्नु छ । 

हजुरआमा लिएर मन्दिर पुग्नु छ । 

फेसबुकमा फोटा हेर्छु साथी सँगी घुमेका।

पढिलेखी जागिर गरी शिखर चुमेका।

सबै जना सोध्छन् मलाई सो गरी कट्छ दिन 

जवाफ आउँछ श्रीमानबाट घरमै बस्दिछिन् । 

सबको खुसी, स्वास्थ्य अनि गर्नुपर्छ सारा काम ।

तर पनि  केही नगरी घर बस्नेमा आउँछ नाम ।

सबै जान्छन् कमाउन, सबै जान्छन् रमाउन ।

म त हजुर सधैँ व्यस्त डाडु पन्युँ समाउन ।

मैले गर्ने कामहरूका न त नाम छ न त दाम ।

म त हजुर हाउसवाईफ त्यही मेरो सर्वनाम ।

 

आफैँलाई पहिलो स्थानमा राखौँ

निकाल केही फुर्सद आफ्नो लागि पनि, बचाउ केही खर्च आफ्नो लागि भनी   । कति गर्छौ काम धन्दा ;w}+ मरी मरी,  यसो निस्किएर घेराबाट हेर वरिपर...