Sunday, April 24, 2016

वैशाख १२ मा बुबालाई चिठी

प्यारो बुबा,

हजुर बित्नुभएको पनि एक बर्ष भैसकेछ । भनिन्छ प्यारो मान्छेले छोडेर जाँदा एकपल पनि दिन झैं लामो लाग्छ । तर बुवा,हामीलाई यो एक बर्षका पलहरु दिन होइन महिना जस्तै लामो भइदियो । किन कि आफ्नै घरले किच्चिएर हजुर बित्नुभयो । हामीले भूकम्पमा हजुरलाई मात्र गुमाएनौं । हजुरसँगै हामीले घर र खाने लाउने सारा चिजबिज गुमाउनु पर्‍यो । हामी सडकमा बस्यौं । भुईंको ओच्छ्यान र आकाशछानो बन्यो हामीलाई । हामीले पेटभरी खान र रातभरी सुत्न पनि पाएनौं । छिनछिनमा आउने भूकम्पका धक्काहरुले गर्दा निन्द्राले लोलाएका आखाहरु झसङग हुन्थे । हामी चौरमै हुन्थ्यौं तैपनि जमिन हल्लियो कि आत्तिएर त्याहाँबाट चिच्याउँदै कताकता दगुथ्र्यौ । हामीले हजुरको यादमा धित मरुन्जेलसम्म रुन पनि पाएनौं । हजुरलाई सम्झेर रुने भन्दा पनि हामी अब काँ बस्ने, के खाने भन्ने कुराको चिन्ता भयो । हिजो आज स्थिति अलि सामान्य हुँदैछ त्यसैले होला हजुरलाई सम्झिरहन मन लाग्छ । त्यसैले आज हजुरलाई यो सब कुरा सुनाउँदै छु ।
हजुर त यो संसार छोडेर गइहाल्नुभयो तर हामी बाँचेकाहरुको पनि यस्तो बिजोग भयो कि हामी पनि हजुरसँगै मर्न पाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो । आमा, म र भाइबहिनीले साह्रै दुख झेल्नुपर्‍यो । सुनाउँ त कसलाई सुनाउने, वरिपरी सबैजना हामीले जस्तै घर र आफन्त गुमाएकाहरुको पनि हाम्रै जस्तो पीडा थियो ।  हामीलाई अब अरुसँगै पालमा मिलेर बस्न लगाईयो । त्यहाँ कति चिनेका मान्छेहरु थिए कति नचिनेका । हामी सबै चिनेका नचिनेका मिलेर सुत्थ्यौं । भाइ बहिनीहरु कहिले भोक लाग्यो भन्थे कहिले तिर्खा । कहिले दिसा आयो भन्थे कहिले पिसाव । कहिले बुबा कहिले आउनुहुन्छ भनि सोध्थे त कहिले अब हामी पनि मर्छौ हो भनेर आमालाई सोधिरहन्थे । भाइ बहिनीका सबै प्रश्नको जवाफ आमासँग पनि थिएन । आमाले केही नभने पनि म आमाको मनको पीडालाई बुझ्दथे । वरपरकाहरुले आमालाई कस्तो कलिलो उमेरमा नै श्रीमान गुमाउनुपर्‍यो है तिमीले, तिमी पनि कस्तो अभागिनी रहेछौं भनेर सुनाउँथे । आमा सधैं रातीको अँध्यारोमा सुक्क–सुक्क गर्नुहुन्थ्यो । हजुरको सम्झेर हो या फेरि छोराछोरीको बिजोग देखेर अथवा अरुले भने जस्तै आफ्नो भाग्य सम्झेर पो रुनुहुन्थ्यो कि तर सधैं रातीको अँध्यारोमा आमालाई सुकसुकाउन सजिलो हुन्थ्यो । म थाहा नपाए जस्तै गर्दिन्थे । मैंले सकेसम्म आमालाई दुख दिईन ।
आमाको आफ्नै पीडा थियो भने मेरो पनि आफ्नै ब्यथा थियो । हजुरहरुको लागि म सानी केही नबुझ्ने केटाकेटी थिएँ तर मेरो यो कलिलो शरीरमाथि गिद्धे नजर लाउनेहरुको लागि म सानी भईन । केही चिनेका र नचिेकाहरुले ममाथि गलत गर्न खोजे । उनीहरु मौका हेरेर मलाई छुने  र चिमोट्ने गर्दथे । आमा वा अरु कसैलाई भनिस भने भोलीदेखि यहाँ बस्न पाउँदैनौ नि भनेर डर देखाए । बस्न नपाईएला र भाइबहिनी लिएर आमा फेरि कहाँ जालिन भन्ने चिन्ताले मैले उनीहरुले ममाथि गरेको दुर्व्यवहार सहने निधो गरे, तर आमालाई भनिन । 
शरीरमा लगाएको एकजोर बाहेक हामीसँग फेर्न लुगा थिएन झन त्यहीमाथि म नछुनी भएँ । मैले नुछुनीमा लगाउने एउटा  सफा टालो समेत पाउन सकिन । राहत दिनेले पनि नछुनीलाई बिचार गरेनन् । म लगाएको लुगामै सुकेका रगतको टाटो लिएर भाइ बहिनी हेरेर बस्थें । आमा राहत बाँडेको ठाउँमा लाईन लाग्न जानुहुन्थ्यो । त्यहाँ पनि भनसुन गरिदिने कोही चिनेको मान्छे हुनेहरुले मात्रै चाडो र धेरै खानेकुरा पाएरे भन्दै आमा केही बिस्कुटका पोका र पानीको बोतल बोकेर आउनुहुन्थ्यो । पेटभरी र पोषिलो खानेकुरा खान नपाएकोले आमाको दूध आउन छोड्यो तर जति–जति बेला भाइ रुन्थ्यो आमाले चुप लगाउनकै लागि भए पनि भाइ लाई दूध चुसाउनुहुन्थ्यो । भाइ दिनदिनै दुब्लाउँदै गयो । आमा पनि झन काली र कमजोर देखिन थाल्नुभयो । आमा र भाइ बहिनीको हालत देखेर मेरो मन भित्रभित्रै रुन्थ्यो तर पनि म केही गर्न सक्दिनथें । 
दुख यतिमा मात्रै सकिदैन बुबा, एकदिन एकजना धनी मान्छेले मलाई आफ्नो घरमा काम गर्न लैजाने रे भन्ने सुनें । पछि फेरि हामी बसेको पालमा केही भलाद्मी खालका दाइदिदीहरु आएर आफ्नो छोराछोरीलाई कसैसँग कतै नपठाउनुहोस्, उनीहरुले लगेर गलत काम लगाउन सक्छन् भनेर सम्झाएपछि आमाले मलाई आफैसँग राख्नुभयो । मेरो पढाई पनि बिग्रियो । खोइ बुवा अब त मैंले पढ्न पनि पाउँछु कि पाउँदिन थाहा छैन । आमा ज्याला गर्न जानुहुन्छ, मैंले भाइ बहिनी हेर्ने र खाना पकाउने गर्नुपर्छ । सायद अब मेरो दिनहरु स्कुलमा होइन घरमा भाइ बहिनी हेरेर नै बित्छन् होला । यसबारे म आमालाई केही भन्न पनि सक्दिन । यतिबेला आमाको लागि म बाहेक अरु कोही साहारा पनि त छैन । 
एक झट्का भूकम्पले हाम्रो सुखी परिवारलाई लथालिङ्ग पारिदियो । यसो सम्झिँदा लाग्छ यदि हाम्रो घर मात्रै बलियो भइदिएको भए भूकम्पपछि पनि सबै कुरा पहिलकै जस्तो सामान्य हुन्थ्यो होला हाम्रो जीवनमा । यदि हाम्रो घर बलियो हुन्थ्यो भने त्यो घर न त ढल्थ्यो ? न त त्यही घरमा किचिएर हजुरले ज्यान गुमाउनु पर्थ्यो ?  हो बुबा, घर बलियो भैदिएको भए न त हाम्रो सडकको बास हुन्थ्यो ? न त आमाले रातीराती सुकसुकाउनु नै पर्थ्यो ? घर बलियो भइदिएको भए मैले गिद्धे पुरुषहरुको दुर्व्यवहार सहुनुपर्दैनथ्यो, अनि भाईबहिनीहरु पनि कहिले भोक र कहिले तिर्खा भन्दै रुदैनथे । अनि मेरो पढाई पनि यसरी आएर बिचैमा रोकिने थिएन । अहिले हामी सबैजना आफ्नै घरमा हुन्थ्यौं । 
हजुर पहिले जस्तै काममा जानुहुन्थ्यो ।  आमाले घर र भाइ बहिनी सम्हाल्नुहुन्थ्यो अनि म स्कुल जान्थे । सबै समस्याको जरो त घर नै रहेछ बुबा । घर बलियो हुनेलाई भूकम्प केवल भूकम्प भएर आउने रहेछ, तर घर बलियो नहुनेहरुको लागि भने भूकम्प विनास र काल बनेर आउने रहेछ । आज हाम्रो यो बिजोकको कारण सबै घर भत्किनाले नै हो बुबा । त्यही कमजोर घरको कारणले गर्दा आज हामीसँग न तपाईं हुनुन्छ न त घर नै छ । बस हामी केवल सामान्य जिवन जिउनको लागि संघर्ष गरिरहेका छौं ।
बुबा हजुरले पनि मृत्युपछि घर बलियो भएको भए मर्न नपर्ने रहेछ भन्ने नै सोच्नुभयो होला है ? हजुरलाई थाहा छ छैन नेपाल भूकम्पको दृष्टिकोणले जोखिमयुक्त देशमा पर्दछ । त्यही भएर बुबा अब हामीले नसकुन्जेल घर बनाउँदैनौं, बनाएपछि भूकम्प प्रतिरोधी घर बनाउनेछौँ । अब भूकम्प आए हाम्रो घर भत्किएर त्यही घरले किचिएर कसैको मृत्यु हुने छैन । मैले पढ्न सकेँ भने म समाजमा भूकम्प प्रतिरोधी घर बनाउनका लागि जनचेतना फैलाउनतिर लाग्नेछु । शायद हामीले भूकम्प प्रतिरोधी घर बनाएपछि मात्र हजुरको आत्माले शान्ति पाउनेछ । म जे जसरी भएपनि भूकम्प प्रतिरोधी घर बनाएर हजुरको आत्मालाई शान्ति दिनेछु ।
- उही तपाईकी छोरी 
कबिता
http://ujyaaloonline.com/news/56522/a-blog-by-pavi-kc/

No comments:

Post a Comment

तिमी गयौ सबथोक गयो

तिमी गयौ कसैलाई खबरै नगरी, जाँदाजाँदै चैनका प्रहर लग्यौ ।  आफ्नाहरुको माझमा, हाँस्ने खेल्ने रमाउने, सपना र रहर लग्यौ ।  ...