Tuesday, June 20, 2017

तिमी गयौ सबथोक गयो















तिमी गयौ कसैलाई खबरै नगरी, जाँदाजाँदै चैनका प्रहर लग्यौ । 
आफ्नाहरुको माझमा, हाँस्ने खेल्ने रमाउने, सपना र रहर लग्यौ । 

बेहोसीमै मैले सोचे तिमीले केवल मेरो जीवन, उजाडेर हिड्यौ,
नजर घुमाएँ चाल पाएँ तिमीले मेरो गाउँ, र छिमेकी शहर लग्यौ । 
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ ।

आफुलाई काबुमा राख्दै, लालाबाला सम्हालेपछि, गोठतिर लागें,
गोठको ठाउँमा गोठ थिएन, अनि लैनो गाई र दुधे वहर लग्यौ ।
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ ।

दिउँसै अन्धकार, चारैतिर कोलाहाल, मुख भिजाउन पानी खोजें,
पानीको भाँडा लग्यौ, धारा, लग्यौ, पधेरा लग्यौ, अनि नहर लग्यौ । 
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ ।

आएन काल घर लडेर चिता हुदा पनि ज्यान बाँच्न सफल भयो,  ं
अब जिउने कसरी पहिरो गयो बाढी पस्यो गिट्टी कुट्ने बगर लग्यौ ।
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ ।

घरबार सब माटो भाको बिजोग हेर्न नसकेर, आफैलाई मार्छु भनि,
एउटा सानो पोको खोजें, भेटिएन तिम्ले त्यो मुसा मार्ने जहर लग्यौ ।
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ । 

मलाई लाग्थ्यो यो जगतमा दैव बाहेक शक्तिशाली, अरु केही छैन, 
शक्ति आफ्नो देखाएर, जिन्दगीभर पालेको, मेरो गलत ठहर लग्यौ ।
हाँस्ने, खेल्ने रमाउने सपना र रहर लग्यौ ।

जाँउ कँहा जाँउ, आश्रय माग्न कता धाँउ, शाहुमहाजको पनि घर लग्यौ 
हेर्दाहेर्दै एक निमेषमा मेरो सानो सन्सारबाट, खुसीका सारा लहर लग्यौ । 
हाँस्ने खेल्ने रमाउने सपना र रहर लग्यौ ।

Tuesday, June 13, 2017

रातो

















म मृत्युसँग लडाई लडीरहँदा   
तिम्रो आँखामा त्रासहरु देखिरहेछु 
म मरेपछि तिमीले भोग्नुपर्ने जिवनप्रति
काहाली लाग्दा आभासहरु देखिरहेछु । 
त्यो त्रास प्यारो मान्छे गुमाउनुको, 
त्यो त्रास मुस्कुराउने सपना त्यागी 
पिडा मात्र समाउनुको 

तिम्रो जिन्दगीबाट म बिदा भई गएपछि, 
आर्यघाटमा म जलेर खरानी भएपछि, 
सबैका ध्यान अब केवल तिमीतिर खिचिनेछ, 
बिचरी, कठै, अवला नारी, कसरी रहली अब ? 
यस्तै यस्तै शब्दहरुले तिम्रो मुटु थिचिनेछ । 
कसरी रहली अब भनेर ब्यथा बाड्न खोाज्नेहरु नै  
तिम्रा पाईला पाईलामा ठेस बन्नेछन्, 
तिम्रो हरेक श्वासप्रश्वासको हिसाब खोज्दै, 
पिठ्युबाट छुरा घोपी, आँखा सामु वेस बन्नेछन् । 

उता मेरो चिताले धुँवा फालिरहँदा, 
छिमेकीले तिम्रो सिँउदो पखालिरहेका हुनेछन्  
उता म आगोमा परिणत हुँदै गर्दा
यता तिम्रा गरगहना फुकालीरहेका हुनेछन्,
तिम्रा निर्दोश हातहरुलाई ढुंगामाथि तेस्र्याएर 
सुँडौला नाडीमा गुन्जिरहेका काँचका चुरीहरु
निर्दयी बनि झ्याम–झ्याम्ती फुटाईनेछ । 
केही छ कि अझै निकाल्न, फुकाल्न बाँकी भनी 
पाउदेखि नियाल्नेछन् र तिम्रो गलाको डोरो चुडाईनेछ । 

तिमी अर्धचेत लल्याक–लुलुक भईदिनेछौ
जसले जता डो¥यायो उतैतिर गइदिनेछौ, 
तिमी जस्तै–जस्तै देखिने ति कैयौं महिलाहरु 
तिमीलाई पाउदेखि शीरसम्म लुछिरहनेछन्, 
रातो रहन हुन्न कतै भन्दै 
निधारको टिका पुछिरहनेछन् 

मलाई सम्झना छ अझै पनि, तिमीलाई लिन आउँदा 
तिम्रा सँगीहरुले तिमीलाई गुराँस झै रातै सजाएका थिए
आज म ्तिमीलाई छोडर जाँदा तिम्रा देवरानीजेठानीहरुले  
तिमीबाट रातोलाई अलग्याई रहेछन्, 
घोटी–घोटी कोट्याई–कोट्याई तिम्रो शरीरका 
कुना काप्चाहरुबाट रातो निकालीरहेछन् । 

तिमी माथि गरिएका ति व्यवहारहरु 
मलाई किनकिन निर्दोशलाई सजाय झै लागिरहेछ 
यस्तो सजाय मानौ म तिमीद्धारा मारिएको हुँ 
र तिमी मेरो ज्यानमारा हौ,  

तिम्रा क्रियाकलापहरुमा अब सिमारेखा कोरिनेछन्, 
दिनदिनै गरिने कैयौं गतिबिधीहरु निषेधित बन्नेछन्, 
यदि मिल्थ्यो भने धर्म र परम्पराको आडमा
तिमीले फेर्न श्वासको हावा पनि खटाएर दिने थिए । 
यो नगर, त्याहाँ नजाउ, उसको सामु नपर 
यता नटेक्नु, त्यतातिर नछुनु अनि यि सब नलगाउनु

हो तिमीलाई अब लगाउन दिइने छैन रातो 
र राता जस्तै देखिने चहकिला रंगहरु 
तर मलाई तिमी रातोमा असाध्यै मनपर्छ
रातो नै त हो एक नारीको शक्ति र उमंगहरु 
तिमीबाट रातो खोसेर तिमीलाई शक्तिहिन बनाएको
अहँ मलाई पटक्कै चित्त बुझेको छैन, 
जिउँदो मान्छेको शरीरबाट निकालेर 
किन चढाउँछन् रातो एक लासमाथि ? 

रातो त तिम्रो हो, रातो जिउदो मानिसको हो । 
नपत्याए आफ्नो छालालाई अलिकति चिमोटेर हेर्नु, 
त्याहाँबाट रातो निस्कनेछ, त्यसलाई रगत भनिन्छ, 
त्यो रातो तिम्रो हो, रातो जिउदो मानिसको हो । 
त्यो निधार तिम्रो हो टिका तिम्रो हो, 
सोह् श्रृंगार तिम्रो हो, गाजलको धर्र्का तिम्रो हो,
मखमली चोली र रातो सारी तिम्रो हो, 
चुल्ठोमाथि सजिने फुलका भारी तिम्रो हो । 

रातो नारीको शक्ति हो, रातो प्रेमको प्रतिक हो, 
रातो देवीको प्रसाद हो, रातो आत्मविश्वास हो ।  
यो आग्रह मेरो तिमीलाई या अन्तिम ईच्छा मान
मेरो मृत्यु पछि पनि हुनु तिमी राातो, रातो तिम्रो हो, 

यो  धर्ती तिम्रो पनि, यो आकाश तिम्रो पनि, 
तर तिम्रो शरीर, तिम्रो जीवन मात्र तिम्रो हो, 
तिमी जिउदो मानिस हौ, रातो जिउदो मानिसको हो, 
त्यसैले म चाहान्छु तिमी रातोमा सजिनु, 
किन कि रातो मेरो होइन, रातो तिम्रो हो । 
रातो केवल तिम्रो हो । 

Wednesday, June 15, 2016

ओह.... तिमी मस्तको बैमानी !!!!
















केस केस्राबाट शुरु भएका स्पर्श
काउकुति लगाउँदै सर्दै–सर्दै गए ।
निधार, परेली, गाला र चिउँडो हुँदै,
सुस्तरी–सुस्तरी तलतिर झर्दै गए ।

वरीपरी कोही थिएनन् परपर सम्म । 
थियांै त केवल तिमी, अनि म,
तिम्रा मिठा स्पर्शहरुमा मधहोस्, 
यि आँखाहरु भईदिए झम्म–झम्म ।

तिम्रो उपस्थिति, तिम्रो प्रस्तुति,
दर्शाउँ कसरी, अनौठो अनुभुति ।
तिमी सर्दै गयौ, तिमी झर्दै गयौ ।
मेरा घाँटी, छाती, स्तन र नाभी हँुदै,
मलाई जिस्क्याउँदै, मलाई चिमोट्दै,
मेरो सम्पुर्ण बदनमा तिमी हाभी हुँदै ।

बन्द नयन मेरा, बन्द हुनै चाहिरहे ।
निरन्तर तिम्रो साथ शरीरभरी पाईरहेँ ।
पलभरमै तिमी, ममा चारै तिर फैलियौ ।
म मात्तिए, मैले दुनियालाई बिर्सिदिँए ।
म तिम्रो नशाले, उम्लिँए अनि बर्षिएँ ।

एकैक्षणमा तिमी रोक्कियौ, निथ्रियौ ।
तर मलाई निथु्रक्कसँग भिजायौ ।
खैर, म यहि नै चाहान्थे तिमीसित,
मलाई धित मरुन्जेलले रिझायौ ।
बिस्तारै तिमी अलग्गियौ मबाट, 
मैले आँखा उघारेर हेरे यताउति ।
तिमी उघ्रिएर उज्यालो भएछौ, 
ममा अझै बाँकी थियो काउकुती ।

सरसरती सम्झिएँ पल तिमीसँगको,
लिएछु आनन्द मैले तिम्रो कुस्तै ।
मन हलुका, शरीर पनि हलुका, 
मुस्कुराएँ म, भिजेको बदन पुछ्दै ।
एकैक्षणमा तिमी अदृष्य भइगयौ ।
तर म अझै पनि, थिए पानीपानी ।
ओह..... पानी, तिमी मस्तको बेइमानी ।
आह..... पानी, तिमी मस्तको बेइमानी । 

Monday, June 6, 2016

मिठो अनुरोध !


















बादलझैं यि केशमा रमाउ तर हराएँ नभन । 
यात्रामा आउलान अनेक जंघार, डराएँ नभन।

मायाँ गर भन्यौ तिमीले, मायाँ गर्ने क्रममा 
रिस, घुर्की र आवेग पोखुँला, कराएँ नभन।

साथ तिम्रो म छोड्ने छैन, कुनै मोडमा पनि,
हात मेरा पनि थामिरहनु, लरखराएँ नभन ।

कहिले तिमी डोर्याउनु, कहिले म डोर्याउँला,
डोर्रिनुरडोर्याउनु त प्यार हो, चराएँ नभन ।

कहिले थकाई लाग्ला, कहिले बिरामी परुलाँ,
सहयोगी हात माग्दा काम , अराएँ नभन । 
यात्रामा आउलान अनेक जंघार, डराएँ नभन।

Sunday, April 24, 2016

वैशाख १२ मा बुबालाई चिठी

प्यारो बुबा,

हजुर बित्नुभएको पनि एक बर्ष भैसकेछ । भनिन्छ प्यारो मान्छेले छोडेर जाँदा एकपल पनि दिन झैं लामो लाग्छ । तर बुवा,हामीलाई यो एक बर्षका पलहरु दिन होइन महिना जस्तै लामो भइदियो । किन कि आफ्नै घरले किच्चिएर हजुर बित्नुभयो । हामीले भूकम्पमा हजुरलाई मात्र गुमाएनौं । हजुरसँगै हामीले घर र खाने लाउने सारा चिजबिज गुमाउनु पर्‍यो । हामी सडकमा बस्यौं । भुईंको ओच्छ्यान र आकाशछानो बन्यो हामीलाई । हामीले पेटभरी खान र रातभरी सुत्न पनि पाएनौं । छिनछिनमा आउने भूकम्पका धक्काहरुले गर्दा निन्द्राले लोलाएका आखाहरु झसङग हुन्थे । हामी चौरमै हुन्थ्यौं तैपनि जमिन हल्लियो कि आत्तिएर त्याहाँबाट चिच्याउँदै कताकता दगुथ्र्यौ । हामीले हजुरको यादमा धित मरुन्जेलसम्म रुन पनि पाएनौं । हजुरलाई सम्झेर रुने भन्दा पनि हामी अब काँ बस्ने, के खाने भन्ने कुराको चिन्ता भयो । हिजो आज स्थिति अलि सामान्य हुँदैछ त्यसैले होला हजुरलाई सम्झिरहन मन लाग्छ । त्यसैले आज हजुरलाई यो सब कुरा सुनाउँदै छु ।

Monday, February 1, 2016

साना–साना हाम्रा खुसी !!




















आउनु मेरो छेउमै बस्नु, मेरा थकान दुर हुनेछन् । 
मुस्कुराउँदै एक नजर हेर्नु, रिस चकनाचुर हुनेछन् । 

फकाउनेछु म पनि, अनेक रंग देखाउँदै तिमीलाई,
जब रिस,क्रोध र आवेशले तिम्रा गति क्रुर हुनेछन् । 

त्यो मनमा प्यार होस्, सम्मान गर्ने संस्कार होस्,
तिमीले देको पत्थर पनि मेरा लागि कोहिनूर हुनेछन् । 

भो कबि बन्न पर्दैन तिमी, न गित गुन्गुनाउनु पर्छ, 
प्रेमको भाषा बोल्नु तिमी, त्यही मिठो सुर हुनेछन् । 

भोकाएको तिमी थाकेकी म, मिलिजुली गरौंला काम,
हाम्रो भान्छामा कहिले खिचडी, कहिले तन्दुर हुनेछन् । 

साना–साना खुसी समेट्दै, जिन्दगी हामी बिताउँला, 
तिमी बिनाका पल मेरा, झुर भन्दा नि झुर हुनेछन् । 

राष्ट्रियता, जात, उमेर, उचाई र दुरीको के कुरा, 
तिम्ले चाहे, मैले चाहे, सब्ले मान्न मजबुर हुनेछन् । 

Wednesday, January 27, 2016

दुई शब्द !!
















दुई शब्दले याहाँ कसैको जिन्दगी बचाउँछ । 
दुई शब्दले नै छातिभित्र तिखो छुरा धसाउँछ । 

छुटीसकेका हातहरु, टुटीसकेका पुराना साथहरु,
दुई शब्द न्यानोले खस्किएको सम्बन्ध कसाउँछ । 

दुखेको मन, थाकेको बदन अनि रोइरहेका नयन,
दुई शब्दले आँशुमा रुझेका आँखाहरु हसाउँछ । 

बाचाकसमका सुन्दर सुन्दर मालाहरु गासेँ पनि,
दुई शब्दले मुक्ति दिन्छ र दुई शब्दले फसाउँछ । 

बाहिरी आवरण जतिसुकै राम्रो होस या कुरुप, 
दुई शब्दले उस्को नियत गन्हाउँछ या बसाउँछ । 

कसैको तितो दुई शब्द प्रहारले मरिसकेका सपना, 
अर्कोको मिठो दुई शब्दले, सपना फेरी जगाउँछ । 

हासों खुसी, प्रेम र घृणा बस दुई शब्दको खेल,
दुई शब्दले चैन दिन्छ, दुई शब्दले चैन भगाउँछ । 

तिमी गयौ सबथोक गयो

तिमी गयौ कसैलाई खबरै नगरी, जाँदाजाँदै चैनका प्रहर लग्यौ ।  आफ्नाहरुको माझमा, हाँस्ने खेल्ने रमाउने, सपना र रहर लग्यौ ।  ...