म आएकी थिएँ, तिमीभित्र।
तिमी अस्पताल गयौ, केही कुरा गर्यौ,
त्यसपछिबाट तिमी किन यति चुप भयौ ?
म त खुसी थिएँ,
तिम्रो कोख पाउँदा,
तिम्रो काख पाउने सपनामा रमाएकी
थिएँ।
दिदीसँग खेल्ने, माया बाँड्ने रहर थियो।
आँखा, नाक, हात—सबै बन्ने बाँकी नै थियो।
तर तिमी दुखी देखिनु, मलाई पनि गाह्रो बनिरहेको छ।
मैले तिमीलाई बोलाएँ —
साना स्वरमा, धेरै चोटि,
तर मेरो आवाज तिम्रो मुटुसम्म पुगेन
सायद।
म थिएँ नि आमा,
तिम्रो अंश — तिमी जस्तै छोरी।
हजुरआमाको काखमा टाँसिएर कथा सुन्ने
रहर
बुबाको काँधमा चढेर संसार हेर्ने
सपना।
तर अब त्यो अधुरो नै रहनेछ,
मेरो यात्रा यत्तिकै रोकिनेछ —
तिमीले एउटा निर्णय गर्यौ,
शायद समाज, परिवारको डरले।
तिमीले चुपचाप केही खायौ,
अलिकति आँसु मिसाई पानीसँग
सायद त्यो मेरो यात्रा अन्त्यको
सङ्केत थियो।
तर आमा —
के दोष थियो मेरो
तिमी छोरी, दिदी अनि हजुराआमा पनि
म मात्रै छोरी भई किन जन्मिन नपाउने
मेरो आवाज रोकिनु,
मेरो बाटो बन्द हुनु — सायद तिम्रो
लागि शान्तिको खोज थियो।
शायद परिवारले तिमीलाई अब माया
गर्नेछन्।
तर तिमीभित्र केही मौन पीडा बाँकी
रहनेछ,
किनभने म — तिमीभित्रको एउटा अधुरो
आत्मा थिएँ।
म, तिमीबाट टाढा जानुपर्यो।
अलबिदा आमा,
अब हाम्रो भेट कहिल्यै नहोला।
म फर्किएँ त्यही सुनसान अन्धकारमा
जहाँबाट म सास बनेर आएकी थिएँ।