Saturday, August 31, 2013

म अनि दाइ !

बाराको दुर्गम गाविसको पनि दुर्गम वडामा मेरो घर । स–साना झुपडी घरहरुले बनेको तामाङहरुको एउटा ठूलो बस्ती माझमा हामी एक क्षेत्री परिवार । कमजोर आर्थिक अवस्था भएको परिवार, अझ स्पष्ट भन्नुपर्दा खान लाउन धौ धौ भएको परिवार । आमा ४ बजे सखारै उठेर दैलो पोती, पानी ल्याईवरी, गाइबाखा्रलाई कुँडो पकाइसकेर हामीलाई उठाउनुहुन्थ्यो । आमाले बोलाएको आवाज कानमा पर्नासाथ म जुर्मुराउदै उठ्थें। आमाको स्वर ठूलो थियो । कुखुरालाई आहारा छरेर आह...आह...आह....भनेर बोलाउदा पनि पल्लो गाँउसम्म सुनिन्थ्यो । म आमासँग निकै डाराउँथें तर दाइ भने टेरपुच्छर लाउदैनथ्यो । त्यही भएर त बेलाबेलामा आमाको सिम्कना र झापड् भेटाउथ्यो । आमाले उस्लाई कुटेको झोक फेर्न त्यतीकै पनि मलाई आएर चड्काउथ्यो । सायद त्यती गरेपछि आमाप्रतिको उस्को रिस मथ्र्यो होला, तर बिचरी मेरो के दोष थियो र । आमाले उस्लाई कुटेपछि अब दाइले मलाई कुट्छ भनेर सोचे हुन्थ्यो ।  म जति कुटाइ खाएपनि मरिगए आवाज निकालेर रुन्नथें । किन कि म रोएको छिमेकीले थाहा पाए भने म आफ्नो घोर बेइज्जत भएको ठान्दथे । म रोएँ भने दाइ “छि सिगाँनी बुडीले ल्यातल्यात सिंगान बगाइ” भन्दै कराउथ्यो । नकराओस पनि किन आँशु भन्दा धेरै सिंगाननै  बग्थे मेरा ।  कहिलेकाहीँ त सिंगान बेलुन जसरी फुलेर लाजैमर्नू पाथ्र्यो ।
टोलबाट दाइ र म बाहेक कोही स्कुल जाँदैनथे, एक त स्कुल नजिक थिएन, अर्को कुरा मतवालीहरु छोराछोरीलाई पढ्न पठाउन भन्दा गोठालो पठाउनुमा फाइदा सोच्दथे । मेरी आमाले एक कक्षा पनि पढ्नुभएको छैन। स्कुलको मुख कस्तो हुन्छ समेत थाहा छैन रे वाहाँलाई । त्यही इखले गर्दा वहाँले नाबालाक छोराछोरीलाई झन्डै दुइतिन किलो मिटर परको स्कुलमा  भएपनि भर्ना गरिदिनुभएको थियो । स्कुल जान त मन लाग्दैनथ्यो नि किनकी गाँउका अरु कोही साथीहरु स्कुल जाँदैनथे तर नगर्इं पनि धर थिएन, आमाले ढाड खुस्किनेगरी बजाउनुहुन्थ्यो । कुटाइ खानाको डर र कुटाइ खाँदा छिमेकीले देखेर आफ्नै बेइज्जत होला भन्ने पिरले म चुपचाप स्कुल जान तयार हुन्थें । हो मलाई अरुको अगाडी आमाले, कुट्नुभो, गाली गर्नुभो भने मेरो सब इज्जत गयो झैं लाग्थ्यो तर बाँदर जस्तो मेरो दाइ चाही दुइचार ड्याम नखाई र एकचोटी बाजा नबजाई स्कुल जान मरिगए मान्थेन ।  
हामीलाई पुर्याउन जान बुवाआमाको फुर्सद थिएन, फुर्सदै भएपनि छोराछोरीलाई स्कुल पुररयाउन जाने चलन थिएन। न गाडी चल्ने बाटो न त बाटोमा बाक्ला घरहरु नै । ठाउँठाउँमा फाट्टफुट्ट घर हुन्थे बाँकी पूरै बाटो चकमन्न हुन्थ्यो । कतै कतै त बाटो नै अध्यारो हुने गरी वरीपरी उखु र मकैको फाँटमात्र हुन्थे । त्यस्तो ठाँउमामा पुगेपछि झयाउँझ्याँउ किराफट्यांग्रा र चराचुरुंगीको मात्र आवाज सुनिने । मलाई भुत भनेपछि असाध्यै डर लाग्ने झन् ति ठाँउहरुमा पहिलेपहिले मन्छे पोल्थे भनेको सुन्या थिएँ । त्यसैले म दाइको अघिपछी गर्दै छिटछिटो पाइला चाल्थें ।  दाइले चाल पाउँथ्यो म डराएको । “मलाई पिसाब आयो त हिन्दै गर” भनेर घारीमा छिथ्र्यो र डरले म नरोएसम्म निस्कँदैनथ्यो । प्राय हामी एकअर्कासँग कुरा नगरीकन नै लुखुरलखुर हिडेर स्कुल पुग्थेम । खुट्टामा हाम्रो कहिले चप्पल हुन्थ्यो कहिले हुन्थेन किनकी चप्पल लगाउन दशैँ कुर्नु पथ्र्यो । दशैंमा पाएको चप्पलले जति दिन धान्यो लगायो अनि अर्को दर्शै न आउन्जेल खाली खुट्टा स्कुल जान्थेम । चैत्र बैसाखको चर्को घाम त्यसमाथि बिहानको पढाइ, चप्पल नभएका ति हाम्रा कलिला पैताला तातो बालुवाले गर्दा चिल्सा परेका हुन्थे । स्कुलबाट घरपुगेपछि आमाले चिसो पानि खनाइिदनु हुन्थ्यो गोडामा ।  
म मान्छे सानै देखि मरिेचे तर कपाल भने ज्यान भन्दा नि ठुलो, मेरो कपाल र पाखुराका रौं देखेर तामांग्नीहरु भन्ने गर्थे नानी तपाईँलाई त भैंसी फाप्छ । खै के फापेको भन्नु, बुवाले बटैयामा अर्काको भैसी पाल्नुभएको थियो । दूध नदिए पनि गोबरचाही बेच्नै पुग्नेगरी दिन्थ्यो । कम्मरसम्मको लामो मेरो कपाल आमाले टनक्क पारेर बाटिदिएपछि एकहप्तासम्म नकोरे पनि केही हुन्थेन। भर्खरै बाटेर आएझैँ देखिन्थ्यो । त्यसैले आमाले नभ्याएको दिन म आफै यसो सम्याइसुम्याइ पारेर स्कुल जान्थे । म सम्याउन बाहेक आफ्नो कपाल आफै कोर्न सक्दिनथें । यसो कोशीस गर्यो भने पनि काइयो कपालभित्रै अल्झिन्थ्यो अनि निकाल्न खोज्दा खोज्दै मेरो हात गलेर फत्तक्क हुने । सबैसाथीहरुको ठुटे कपाल देखेर मलाई डाहा लाग्थ्यो, किनकि उनीहरु आफ्नो कपाल आफैं कोर्थे र घरमा भए जति नाना थरी किलिपकाँटा टाउकाभरी घुसारेर हिँड्थे । आफ्नो भने जहिले नि रातो धागोले टिनिक्क मुर्दा कसे झै कस्नुपर्ने बाध्यता । म आफ्नो पनि छोटो कपालको  भाको र अरु साथीहरु झै झरीमा रुझ्दै बाटाबाटो दौडिएको कल्पना गर्थे। तर मेरो त्यो कल्पना कहिल्यै पूरा भएन । न आमाले मेरो कपाल काटीदिनु भो न त कहिल्यै झरीमा रुझ्न नै पाएँ। पानीमा रुझ्यो कि बिरामी पर्थें म । बिरामी परेपछि धामीकोमा नलगी ठिक हुन्नथ्यो मलाई । 
म पढाइमा निकै जान्ने थिएँ तर अक्षर चाहीँ कागले छेरे जस्ता किरी र मिरी । अनि दाइ चाहीँ पढाइमा ल्वाँदे तर अक्षर भने चित्रकारले कुँदेजस्ता सुन्दर । दाइ आज मरीमरी याद गरेको पाठ भोलीपल्ट स्कुल पुग्दा खाइसक्थ्यो त्यही भएर प्रायजसो कुटाइ खान्थ्यो, कि कुखुरा बन्थ्यो त कि त्यो घन्टी नसकुन्जेल डेस्कमा उभिन्थ्यो । मलाई यो दृष्य असाध्यै पीडादायी हुन्थ्यो । कहिलेकाहीँ त म पनि याद नगरी जाउँ र दाइसँगै कुटाइ खाउँ झैं लाग्थ्यो तर स्कुलमा साथीहरुको अगाडी आफ्नो छुट्टै इज्जत थियो । कुटाइ खाएर म आफ्नो छँदाखाँदाको इज्जत फाल्न पनि सक्दिनथें । घरमा पनि  मैले सबै पाठ लेखिसकेपछि उ खुरुखुरु साथ्र्यो मात्र । लेख्ने पाठ त मेरो सारेर जोगिन्थ्यो तर याद गर्नुपर्ने पाठको भाग स्कुल पुगेर सरको कुटाइ खाने तयारीसाथ ऊ फुसफुस निदाउथ्यो । म चाहीँ आमाले बत्ती निभाइदिसक्दा पनि मनमनै पाठ याद गर्थें र भोलीपल्ट सरको अगाडी खरररर भन्न सक्छु भन्ने लागेपछि मात्रै निदाउथें । जे होस् दाइ र म एउटै कक्षामा सँगसँगै पास हुदै गयौं। हाम्रो रिजल्ट भएको दिन दाइले सधैं आएर आमाको खुट्टा ढोग्थ्यो । छोराले आफ्नो गोडा ढोगेपछि आमाले थाहाँ पाउनुहुन्थ्यो दाइ पास भएको कुरा । 
यावत तरिकाले समय बित्दै जाँदा चार कक्षाको पनि रिजल्ट सुन्ने दिन आयो । १ देखि १० कक्षासम्मको रिजल्ट एकै दिन सुनाइन्थयो । स्कुलको चौरभरी रिजल्ट सुन्ने मान्छेको भिड हुन्थ्यो अनि सरहरुले चाहीँ माइकमा पास हुने जतिको नाम फुक्नुहुन्थ्यो । जस्को नाम आएन त्यो फेल । माइकमा मेरो नाम आयो। म खुसीले गद्गद् भएँ दाइ पनि खुसी भयो । अब हामी दाइको नाम कुर्दै थियौं । तर  दुर्भाग्य त्यो वर्ष दाइको नाम अन्तिमसम्म पनि आएन अर्थात् म पास भएँ अनि दाइ फेल । हामी दाजुबैनी केही नबोली लुरुलुरु घर पुग्यौं ।  त्यो दिन घर पुगेर दाइले आमाको गोडा ढोगेन । छोराको निन्याउरो अनुहार देखेर आमाले थाहा पाइहाल्नु भो दाइ फेल भाको कुरा । आमा  निकै बेर केही बोल्नुभएन । खै वहाँको मनमा के के हुरीबतास चल्यो त्यो वहाँलाई नै था होला । केही समयपछि आमाको आवाज आयो “घोडा चढ्ने मान्छे लड्छ पढ्ने मान्छे फेल हुन्छ , के भो र मेरो छोरा झन् इख लिएर पढ्छ, अर्को वर्ष धेरै नम्बर ल्याएर पास हुन्छ” भनेर दाइलाई सम्झाउनु भयो । 
केही दिन पछि स्कुल लाग्यो । तर अब दाइको र मेरो कक्षा फरक, किताब फरक, साथीभाइ फरक, स्कुलमा खेल्ने थलो फरक अनि घर फर्कने र स्कुल जाने समय पनि फरक हुन थाल्यो । किनभने अब दाइ आफ्नै साथीहरुसँग रमाउन थालेको थियो । दाइ अलि रुखो स्वभावको हुँदै गयो । उस्को बारेमा अब मलाई खासै केही थाहा हुन छोड्यो किनकि ऊ स्कुलमा पनि मसँग बोल्न रुचाउँदैनथ्यो । उस्का साथीहरुले म उस्को बहिनी भन्ने थाहा पाए भने बहिनी ५ मा दाइ ४ भनेर उस्को खिल्ली उडाउँछन् भन्ने डरले उस्ले मलाई स्कुलमा नबोल्न आदेश दिएको थियो ।  कहिलेकाहीँ स्कुलबाट भागेर घर आउँथ्यो र दुइजनालाई राखिदिएको खाजा एक्लैले बुत्याइदिन्थ्यो । ऊ अब स्कुलबाट भागेर कहिले चरा मार्न, कहिले माछा मार्न, कहिले बाढी आएको ठाउँमा पौडी खेल्न अनि कहिले जमुना र कुसुम खान जंगल पुग्थ्यो । त्यसैले पनि उस्ले आमाको कुटाइ नखाएको दिन हुन्थेन । कहिलेकाहीँ ऊ कुटाइ र भात सँगसँगै खान्थ्यो भने कहिले कुटाइ मात्र खाएर सुत्थ्यो । मलाई दाइको असाध्यै माया लाग्थ्यो तर म केही गर्न सक्दिनथें उस्लाई आमाको कुटाइबाट बचाउन ।  
दाइ उस्का पाठहरु मलाई सोध्थ्यो । म बताइदिन्थे । तर म भन्दै जाने अनि उ लेख्दै जाने गर्नको लागि म सँग समय हुन्थेन किनकि मलाई पनि आफ्नो पाठ गर्नुपर्ने हुन्थ्यो । फेरी धेरैबेरसम्म बत्ति बालेर पढ्दा बुवाले पल्लो कोठाबाट सराप्नु हुन्थ्यो । “मट्टितेल किन्ने पैसा छैन, भाको जति आजै बालेर सक तिमेरका झोल । हो हाम्रो गाँउमा लाइन पुगेको थिएन । टुकीमा पढ्नुपर्ने बाध्यता त्यसमाथि मट्टितेल किन्ने पैसा नहुनाले राती धेरै बेर पढ्न नपाउने अर्को विवशता ।  कहिलेकाहीँ त म झ्यालबाट आएको जुनको उज्यालोमा पाठ लेख्थे । जसोतसो दाइ र म पढ्दै गयौं । दाइ नौ कक्षामा म दश कक्षामा । अब त हामी किशोरकिशोरी भैसकेका थियौं । दाइको र मेरो झगडा पर्यो भने तँ फलानाको पोइ , तँ फलानाको बुडी भनेर बाझाबाझ गथ्र्यौं । म दाइलाई आफ्नो कक्षाको राम्री र पडाकु केटीहरुको नाम लिएर जिस्काउथे त्यसैले ऊ रिसाएझैं गरेपनि मनमनै मख्ख पथ्र्यो । तर मलाई भने ल्वाद, कहिल्यै स्कुल नजाने, सधैं कुटाइ खाने र गुच्चा मात्र खेल्ने साथीहरुको नाम लिएर चिडाउथ्यो । मैले दाइलाई कुटें भने मेरै हात दुख्थ्यो त्यस्का हड्डीले । 
मेरो एसएलसीको समय नजिकिदै थियो । हामी दश कक्षाको सबै विद्यार्थीहरु एसएलसीको तयारीको लागि सदरमुकाम कलैयाको विभिन्न ठाँउमा डेरा लिएर बस्न थाल्यौं । म सदरमुकाम गएपछि दाइलाई पाठ सिकाउने कोही भएन । उ स्कुल जान्थ्यो जान्थेन केही पत्तो हुन्थेन । एसएलसी परिक्षा दिन सदरमुकामबाट झन्डै  पाँचसात किलोमिटर पर जानुपथ्र्यो । सात बजेदेखिको परिक्षाको लागि साइकल चढेर म साथीहरुसँग परिक्षा हल पुग्थे भने दाइ पनि घरबाट लगभग १५-१६ किलोमिटरको कच्ची बाटो साइकल चढेर मेरो परिक्षा केन्द्र पुग्थ्यो । भित्र मैले परिक्षा दिदै गर्दा बेलाबेलामा दाइले बाहिरबाट विस्तारै साउती गरेर बोलाउथ्यो र सोध्थ्यो बुइनी तँलाई कति नम्वरको उत्तर आएन भन्त, ह्या मसँग गेसपेपर छ म च्यातेर फाल्छु अनि लेख्  दाइले मलाई असाध्यै माया गथ्र्यो नगर्ने भए किन ४ बजे राती उठेर त्यती लामो बाटो बुढो साइकल कुदाउँदै सात बजे बहिनीको एसएलसी परिक्षा केन्द्र पुग्नुपथ्र्यो र मज्जाले सुतेर बसे भैहाल्थ्यो नि । पाँचौ परिक्षा दिएर फर्किदै गर्दा दाइले मलाई बाटोमा सुनायो एउटा अचम्मको कुरा । म छक्क परें अनि मक्ख पनि । अहिले नै हल्ला नगर्ने सर्तमा आफ्नो बिहेको कुरा छिनेको कुरा सुनायो । “अमलेखगंजको केटी हो । अली मोटी छ तर तर मलाई राम्री लाग्यो । बुवालाई पनि बुहारीको रहर लाग्यो रे । म बिग्रीएँ रे । खाली खोपी र गुच्चा मात्रै खेले रे । भैंसी पनि राम्रोसँग चराइन रे । स्कुल पनि सधैं गइन रे । बेलुका भात खान पनि समयमा घर आइन रे । बिहे गरिदिएपछि म सुध्रिन्छु भनेर गाँउका सबले बुवालाई उचालेछन् । हिजो शनिबार बुवाले बिरगंज घुमाउन लान्छु भनेर अमलेखगंज लगेर केटी देखाए, अनि सिधै टिकाटालो गरेर आको हिजो । बिहे २२ गते हो, त्यसैले म भोलि देखि आउँदिन होला तेरो जाँचमा । तँ पनि १४ गते जाँच सकिना साथ घर आइजो । बिहेको लागि पुरै घर पोत्नु छ । त्यसपछि त तेरी भाउजुले पोती हाल्छे नि । अनि छ नि उस्को नाम रमा हो ।उस्ले आठ कक्षा पढेर छोडेको रे । खासै खेतीपाती गर्न आउँदैन रे तर लुगा चाहीँ एकघण्टामा एक ट्रक धुन्छे रे । बुवाले मेरो बिहेमा बस लैजाने भन्नुभाको छ । अनि तँलाई पनि नयाँ कुर्थासुरुवाल किन्दिने रे” । यि सब कुरा सुनाइ रहँदा मैले उस्का अनुहारमा अथाहा खुसी देखें.... मात्र खुसी । भविष्यमा आउने पीडा बारे न उस्लाई ज्ञान थियो न त मलाई नै त्यसैले हामी  दुबै साइकल रोकेर खुब कुरा गर्यौ । दाइ बीचबाटोबाट घरतिर लाग्यो म सदरमुकाममा भएको आफ्नो डेरा तिर । 
बुवाले दाइको बिहे बस लगेर नै गरिदिनु भो । बिहेको केही दिन घर–सुराली, चिनजान र आवतजावत गरेरै बित्यो । लगभग एक महिनापछि आमाले दाइलाई स्कुल जा भन्नु भयो । दाइ गयो पनि । एक दिन अचानक दाइ घरमा आएर पड्क्यो । “अब देखि म स्कुल जान्न । आज मेरो कत्रो बेइज्जत भो थाहा छ तपाईँहरुलाई? त्यो सरले सब साथीको अगाडी “सादी करके भि स्कुला आया रे तु” भनेर जिस्कायो अनि सब जना गलल्ल हाँसे” बेस्सरी पड्किदै किताब भुइभरी फालिदियो  । घरका कोही केही बोलेनन्, भाउजू पनि चुपचाप दाइको रिस नाप्दै हुनुहुन्थ्यो । नभन्दै दाइ भोलिपल्ट देखि स्कुल गएन, अहँ मरिगए जान मानेन । ऊ यत्तिक्कै बरालिएर हिंड्न थाल्यो । घरमा किचकिच शूरु भयो । एकसाँझ बुवाले भात खाने बेलामा दाइसँग भन्नु भो । “अब तँ स्कुल नजाने भए यसरी खेलेर चैं खान पाउँदैनस् । म बुढोले मात्रै कसरी धान्नु । अब कमाउन पर्यो । अब तँ मात्रै होइन तेरो स्वास्नी पनि छ । घरमा नदिए पनि आफू र आफ्नो स्वास्नी पाल्ने मेसो गर्” । दाइ केही बोलेन । चुपचाप भातको गाँस् टिपेर आफ्नो कोठातिर लाग्यो । 
दाइले आफ्नो स्कुल, आफ्नो कक्षा, आफ्ना किताबहरु, ति चित्रकारले कुँदेजस्ता सुन्दर अक्षरहरु अनि स्कुलका आफ्ना सबै साथीहरु र उस्को त्यो रमाइलो जिवन अनि किशोरावस्थाको अल्लारेपनलाई माया मार्यो । ९ कक्षामा पढ्दापढ्दै १६ बर्षको उमेरमा विवाह भएको मेरो दाइले धेरै पढेर राम्रो जागिर खाने र सुखमय जीवन जिउने सपना त्यागेर मेलापातमा लाग्यो । ज्यालाबनि गर्न थाल्यो अनि खेतबारीको काम गर्न थाल्यो, उ त्यसैमा रमाउन थाल्यो उ साच्चै रमायो या रमाएको अभिनय मात्र गर्यो त्यो त उसैको मनलाई थाहा होला । यसरी किताब र स्कुले जिवनसँग उस्को सम्बन्ध बिच्छेद भयो तर ऊ आफ्नो पारिवारीक र बैवाहिक जीवन लिएर अघि बढ्यो भने म पनि आफ्नो पढाइ पूरा गर्ने सपना लिएर अघि बढें । 


23 comments:

  1. सारै घतलाग्दो रैछ बैनी तपाइको बाल्यावस्था ! मलाइ मेरो बालापनको याद आयो !

    ReplyDelete
  2. Pavi Ji Dukha Bata Nai Sukha Milxa. I AM VERY PROUD OF YOU

    ReplyDelete
  3. लेखाई सार्है घत लाग्दो छ ।

    ReplyDelete
  4. पढी सकेर आफ्नो बाल्यकालको संझनामा हराउन पो पुगें । यस्तै मीठा लेखहरुको आशामा .. ।

    ReplyDelete
  5. Great article..keep it up...hope i get to read more in future..inspiring..

    ReplyDelete
  6. सजिब लेख्यौ पबी । त्यस्तै ठाँउ र पात्रहरुको परिबेशमा हुर्केको म । आँखा रसाएर आए । सललल बग्ने सरल भाषा अनी हाम्रो जिल्लामा त्यस बखत हुने SLC परिक्षाको प्रणाली सारै चित्त बुझ्यो । लेख्दै जाउ एकदिन तिमीले जिल्लाकै नाँउ राख्न पर्छ ।

    ReplyDelete
  7. Thank you so much sabailai for the encouragement and comment :)

    ReplyDelete
  8. Thank you pavi for the wonderful writing..
    mero pani ek bahini chhe, so she was all in my mind when I am reading this, while the things are opposite around with us.
    She is still struggling in studies, while my parents think I am good in studies (though this is not the fact)

    ani u know, jaba pani ma aafno article haru lekchhu, i get remind of only one thing, through my writing, it may happen very few will get the page and very few among those few will read it completely.. but even if this will touch heart of one single person, i will find my writing worthy enough...

    tyehi chha yaha.. malai padhna lai 15 mins lagyo bhane, timilai lekhna ko lagi jhan kati time lagyo hola, tyo pani nepali lekhna...
    thanks for writing the wonderful writing and yeah, will love to read more from you in coming time..
    Regards
    Suraj

    p.s you may like to read my blog, here is the one http://sghmre.blogspot.com

    ReplyDelete
  9. अनि तेसपछी पनि पड्न पाउछु की ?

    ReplyDelete
    Replies
    1. असाध्यै मन पराय चाहे कपोकल्पित कथा नै किन नहोस वास्तबिक नेपाली समाजभित्रको जीवनलाई छर्लङ मिठो शब्दमा उतारिदिनु भयको रहेछ। हरेक गरिव बाबुआमाको दु:खको डाइलग “मट्टितेल किन्ने पैसा छैन, भाको जति आजै बालेर सक है तिमेरका झोल” अनी टुकीमा पढ्नुपर्ने बाध्यता त्यसमाथि मट्टितेल किन्ने पैसा नहुनाले राती धेरै बेर पढ्न नपाउने अर्को विवशता । कहिलेकाहीँ त म झ्यालबाट आएको जुनको उज्यालोमा पाठ लेख्थे।

      लेख्दै जानुहोला यस्तै यस्तै खाटी कथाहरू, ह्रिदयदेखी नै शुभकामना !

      Delete
  10. याद दिलयो म पनि यस्तै समाजिक परिवेश र गाँउले संरचना मा हुर्केको मान्छे हो

    ReplyDelete
  11. अाफ्नो पनि बाल्यकालको परिचय लेख्न मन लाग्यो है तर समय धेरै लाग्छ भन्ने पिरले लेख्दैन है ।

    ReplyDelete
  12. जामुन र कुसुम खाएको कुराले याद दिलायो बाल्यकाल तर बाल्यकाल पछिका कुराहरु सम्झने उत्सुकता पनि बढेर आयो | सम्भब छ कि ?

    ReplyDelete
  13. wonderful and heart touching...u have that art sis, the power of writing..

    ReplyDelete
  14. I enjoyed reading your story, Pavi Jee! It really shares the common ground my friends and I would have years back when we went schooling those days in Nepal. Your story reflects us, doesn't it? Please keep up your good work! Wish you all the best! Regards

    ReplyDelete
    Replies
    1. Thank you so much for your time and comment and I am glad that you read my story though it is a bit long. hope you enjoyed it. Thank you sir :)

      Delete
    2. You are very welcome, Pavi Jee! Yes, I did enjoy, in fact! The story tells us an inspiring, yet true social occurrence with a help-change-the-society perspective, at least in my view, which might differ from other readers! Thanks, again! Regards

      Delete
  15. Reminded me of my childhood :). Keep uo the good work.

    ReplyDelete

ओह.... तिमी मस्तको बैमानी !!!!

केस केस्राबाट शुरु भएका स्पर्श काउकुति लगाउँदै सर्दै–सर्दै गए । निधार, परेली, गाला र चिउँडो हुँदै, सुस्तरी–सुस्तरी तलति...