म मृत्युसँग लडाई लडिरहँदा
तिम्रो आँखामा त्रासहरु देखिरहेछु
म मरेपछि तिमीले भोग्नुपर्ने जीवनप्रति
कहाली लाग्दा आभासहरु देखिरहेछु ।
त्यो त्रास प्यारो मान्छे गुमाउनुको,
त्यो त्रास मुस्कुराउने सपना त्यागी
पिडा मात्र समाउनुको
तिम्रो जिन्दगीबाट म बिदा भई गएपछि,
आर्यघाटमा म जलेर खरानी भएपछि,
सबैका ध्यान अब केवल तिमीतिर खिचिनेछ,
बिचरी, कठै, अवला नारी, कसरी रहली अब ?
यस्तै यस्तै शब्दहरुले तिम्रो मुटु थिचिनेछ ।
कसरी रहली अब भनेर व्यथा बाँड्न खोाज्नेहरु नै
तिम्रा पाइला पाइलामा ठेस बन्नेछन्,
तिम्रो हरेक श्वासप्रश्वासको हिसाब खोज्दै,
पिठ्युँबाट छुरा घोपी, आँखा सामु वेश बन्नेछन् ।
उता मेरो चिताले धुवाँ फालिरहँदा,
छिमेकीले तिम्रो सिउँदो पखालिरहेका हुनेछन्
उता म आगोमा परिणत हुँदै गर्दा
यता तिम्रा गरगहना फुकालीरहेका हुनेछन्,
तिम्रा निर्दोष हातहरुलाई ढुङ्गामाथि तेस्र्याएर
सुँडौला नाडीमा गुन्जिरहेका काँचका चुरीहरू
निर्दयी बनी झ्याम्म–झ्याम्ती फुटाइनेछ ।
केही छ कि अझै निकाल्न, फुकाल्न बाँकी भनी
पाउदेखि नियाल्नेछन् र तिम्रो गलाको डोरो चुडाईनेछ ।
तिमी अर्ध चेत लल्याक–लुलुक भईदिनेछौ
जसले जता डो¥यायो उतैतिर गइदिनेछौ,
तिमी जस्तै–जस्तै देखिने ती कैयौँ महिलाहरू
तिमीलाई पाउदेखि शीरसम्म लुछिरहनेछन्,
रातो रहन हुन्न कतै भन्दै
निधारको टिका पुछिरहनेछन्
मलाई सम्झना छ अझै पनि, तिमीलाई लिन आउँदा
तिम्रा सङ्गीहरूले तिमीलाई गुराँस झैँ रातै सजाएका थिए
आज म तिमीलाई छोडेर जाँदा तिम्रा देवरानीजेठानीहरुले
तिमीबाट रातोलाई अलग्याई रहेछन्,
घोटी–घोटी कोट्याई–कोट्याई तिम्रो शरीरका
कुना काप्चाहरूबाट रातो निकालिरहेछन् ।
तिमी माथि गरिएका ती व्यवहारहरू
मलाई किन किन निर्दोषलाई सजाय झैँ लागिरहेछ
यस्तो सजाय मानौँ म तिमीद्धारा मारिएको हुँ
र तिमी मेरो ज्यानमारा हौ,
तिम्रा क्रियाकलापहरूमा अब सीमारेखा कोरिनेछन्,
दिनदिनै गरिने कैयौँ गतिविधिहरू निषेधित बन्नेछन्,
यदि मिल्थ्यो भने धर्म र परम्पराको आडमा
तिमीले फेर्न श्वासको हावा पनि खटाएर दिने थिए ।
यो नगर, त्यहाँ नजाउ, उसको सामु नपर
यता नटेक्नु, त्यतातिर नछुनु अनि यी सब नलगाउनु
हो तिमीलाई अब लगाउन दिइने छैन रातो
र राता जस्तै देखिने चहकिला रङ्गहरू
तर मलाई तिमी रातोमा असाध्यै मन पर्छ
रातो नै त हो एक नारीको शक्ति र उमङ्गहरू
तिमीबाट रातो खोसेर तिमीलाई शक्तिहीन बनाएको
अहँ मलाई पटक्कै चित्त बुझेको छैन,
जिउँदो मान्छेको शरीरबाट निकालेर
किन चढाउँछन् रातो एक लासमाथि ?
रातो त तिम्रो हो, रातो जिउँदो मानिसको हो ।
नपत्याए आफ्नो छालालाई अलिकति चिमोटेर हेर्नु,
त्यहाँबाट रातो निस्कनेछ, त्यसलाई रगत भनिन्छ,
त्यो रातो तिम्रो हो, रातो जिउँदो मानिसको हो ।
त्यो निधार तिम्रो हो टिका तिम्रो हो,
सोह्र श्रृंगार तिम्रो हो, गाजलको धर्का तिम्रो हो,
मखमली चोली र रातो सारी तिम्रो हो,
चुल्ठोमाथि सजिने फुलका भारी तिम्रो हो ।
रातो नारीको शक्ति हो, रातो प्रेमको प्रतीक हो,
रातो देवीको प्रसाद हो, रातो आत्मविश्वास हो ।
यो आग्रह मेरो तिमीलाई या अन्तिम इच्छा मान
मेरो मृत्यु पछि पनि हुनु तिमी रातो, रातो तिम्रो हो,
यो धर्ती तिम्रो पनि, यो आकाश तिम्रो पनि,
तर तिम्रो शरीर, तिम्रो जीवन मात्र तिम्रो हो,
तिमी जिउँदो मानिस हौ, रातो जिउँदो मानिसको हो,
त्यसैले म चाहन्छु तिमी रातोमा सजिनु,
किन कि रातो मेरो होइन, रातो तिम्रो हो ।
रातो केवल तिम्रो हो ।
कस्ताे मुटु छुने किवता हाे ।।।। यस्ताे thoughts haru मुटु काे कुन कुना बाट अाउछ ।।। साचिकै हृदय लाई छाेयाे तिर्माे कविता ले।।।
ReplyDeleteThank You :) kahile kaahi aauchan thoughts haru :)
Delete